arrow

वर्षाका लागि क्षमापूजासहित जलधारा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २२ शनिबार
aarati.jpg

नुवाकोट । लामो समयदेखि वर्षा नहुँदा दैनिक जनजीवन प्रभावित भएको जनाउँदै पञ्चकन्या गाउँपालिका-४ आरुखर्कका स्थानीयले भूमेथानमा क्षमापूजा गरेका छन् ।

शुक्रबार बिहानैदेखि दिनभर गाउँभरका स्थानीयवासीले झाक्री डिलबहादुर तामाङको नेतृत्वमा घ्याङस्वाराको एक हजार आठसय मिटर उचारमा अवस्थित जिलिङ भूमेथान महादेव र डुप्चेदेवी थानमा क्षमा पूजा गर्दै जलधारा गरेका छन् ।

स्थानीयवासीले पानी नपर्नुमा नागराजको रिसानी भएको जनाउँदै भूमेथान परिसरमा रहेको कालो नागलाई कुखुराको बली चढाएका जनाइएको छ ।

“पुराना दिनमा भूमेथान रिसानी हुँदा वर्षात हुँदैनथ्यो”, झाक्री तामाङले भने, “अहिले पनि यस्तै भएको छ । खेतबारीमा लगाएका कृषिवाली मर्न थालेका छन् । पशुचौपायाले हरियो घाँस पाउन समस्या छ । जीवित प्राणीको जीवन जीउन गाह्रो भएपछि रिसाएका भगवान खुसी बनाउन जलधारा गरेका हौँ ।”

भूमेथानमा जलधारा गरेपछि केही दिनमै पानी पर्ने यहाँको स्थानीयवासीको विश्वास छ । मूला झाक्रीले ठ्याङ्ग्रो बजाउँदै त्यसमा साथ दिन पुगेका स्थानीयले कुखुरा, जल, चामल, अण्डा र भेटी चढाएर दिनभर गरेको क्षमा पूजाले भगवान् खुसी हुनुभएको स्थानीय मङ्गल तामाङले विश्वास व्यक्त गरे ।

“भगवान्ले बुझ्ने गरेर हामीले क्षमा पूजा गरेका छौँ । जलधारा गरेका छौँ”, उनले भने, “पूजाविधि, क्षमा पूजा र जलधारा गर्दा कतै बाधाविघ्न भएको छैन । भगवान् खुसी हुनुभएको छ ।”

लामो समयदेखि वर्षात् नहुँदा उच्च पहाडी क्षेत्र पञ्चकन्या-४ आरुखर्कसहित यहाँको थप्रेक र आसपासमा किसानले रोपेको मकै खेती औंल्याउँदै थालेका छन् । पानीका मुहानहरु सुक्न थालेसँगै जीवित प्राणीको प्राण बचाउन कठिनाइ भएको वीरबहादुर तामाङले बताए ।

“जलधारा गर्दै हामीले भगवानलाई हामी जिवित प्राणी यसरी रमाउन चाहन्छौँ । हामीलाई पानी चाहिन्छ । पानी दिनुपर्यो भन्ने वर माग्यौँ” उनले भने ।

पञ्चकन्याका स्थानीय सहित नुवाकोटको विभिन्न स्थानमा पानी नपर्नुलाई भगवानको रिसानी भएको जनाउँदै जलधारा गर्ने चलन पूरानो हो ।

भगवान इन्द्रको रिसानी हुदाँ पानी नपर्ने स्थानीयको विश्वासले सामुदाय अनुसार पण्डित, झाक्री, लामाहरुबाट क्षमा पूजा र जलधारा गर्दै किसानहरु पानी (वर्षा) पुकार्दै आइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ