arrow

पुस्तक अंश

सेवाकालमै दश प्रधानसेनापतिः कटवालको हिमखिम

logo
विवेककुमार शाह,
प्रकाशित २०८१ वैशाख २२ शनिबार
bibekkumar-shah-81-01-22.jpg

जब म तत्कालीन शाही नेपाली सेनामा भर्ना भएँ, त्यतिबेला सेनाको कमान्डर इन चिफ महारथी सुरेन्द्रबहादुर शाह हुनुहुन्थ्यो । त्यो बेला प्रधानसेनापतिलाई ‘कमान्डर इन चिफ’ भन्ने गरिन्थ्यो । शाहपछि सिंहबहादुर बस्नेत कमान्डर इन चिफ हुनुभयो । पछि गुणशमशेर जवराको कार्यकालदेखि चाहिँ ‘चिफ अफ आर्मी स्टाफ’ भन्न थालियो । मैले अवकाश पाउँदा महारथी प्यारजङ्ग थापा प्रधानसेनापति हुनुहुन्थ्यो । मैले सेनामा रहेर सेवा गर्दा १० जना सेनाप्रमुखहरू कार्यरत हुनुभयो । 

तत्कालीन समयमा सेनाप्रमुख सिधै राजाबाट नियुक्त गरिन्थ्यो । कसलाई सेनाको प्रमुख बनाउने, कसलाई नबनाउने भन्ने अधिकार राजासँगै निहित हुन्थ्यो । तथापि, वरिष्ठता र कार्य दक्षतालाई प्रमुख आधार बनाइन्थ्यो । सम्भवतः त्यही आधारमा दरबारले पहिलादेखि नै फलाना अधिकृत सेनाप्रमुख बन्न सक्षम र लायक छन् भनेर ‘मार्क’ गर्ने गथ्र्यो होला । 

तत्कालीन कमान्डर इन चिफ सुरेन्द्रबहादुर शाह राजा महेन्द्रको असाध्यै मन परेका सेनाप्रमुख मानिनु हुन्थ्यो । २०१७ सालमा राजनीतिक परिवर्तन भएपछि सत्ताच्युत हुन पुगेको नेपाली कांग्रेसका कार्यकर्ताहरूले २०१८ सालमा ठाउँ–ठाउँमा विद्रोह मच्चाएका थिए । सो विद्रोह साम्य पार्न शाहले राम्रो भूमिका निर्वाह गर्नुभएको थियो भनिन्छ । त्यसअघि २०१७ साल पुस १ गते विपी कोइरालालगायत कांग्रेसका शीर्ष तहका नेताहरूलाई गिरफ्तार गर्दा पनि शाहको विशेष भूमिका भएको बताइन्छ । 

राजा महेन्द्र कवि हृदयका व्यक्तित्व होइबक्सन्थ्यो । राजकाजबाहेक सरकारको रुचि साहित्य लेखनमा पनि थियो । शाहको पनि साहित्यमा रुचि थियो र उहाँ कविता लेख्नुहुन्थ्यो । सायद, एउटै रुचिका कारण पनि राजा महेन्द्रले शाहलाई रुचाइबक्सेको हुनसक्छ । त्यतिबेला राजालाई खुसी राख्न धेरै उच्चपदस्थ अधिकारीले पनि कविता लेख्ने गरेका थिए भन्ने भनाइ पनि व्याप्त थियो । 

दरबारको नजरमा असल सेनापति हुनुभएको हुँदा शाहलाई राजा वीरेन्द्रको शुभराज्याभिषेकको बेला अतिरथी (फिल्ड मार्सल) पनि बनाइएको थियो । फिल्डमार्सल भनेको प्रधानसेनापतिभन्दा माथिल्लो पद हो र यसलाई सम्मानित पद मानिन्छ । प्रधानसेनापति चार तारे हुन्छ भने फिल्ड मार्सल चाहिँ पाँच तारे । यो पदवी अवकाशप्राप्त प्रधानसेनापतिलाई दिइने चलन रहँदै आएको छ । 

खासगरी, सेनाप्रमुखको सेवाको मूल्याड्ढनस्वरुप यस्तो पदवी कुनै कुनै बेला मात्र दिइएका दृष्टान्त छन् । फिल्डमार्सल हुनेले आजीवन तलब, भत्तालगायतका सुविधा पाउनुका साथै युनिफर्म पनि आजीवन लगाउन पाइने व्यवस्था छ । कुनै उच्च समारोहहरूमा उच्च सम्मानसमेत प्रकट गरिन्छ । अवकाशप्राप्त प्रधानसेनापतिहरुलाई अतिरथी हुन पाउने ठूलो चाहना र धोको हुन्थ्यो र त्यसका लागि उहाँहरुले राजाको विशेष खातिरदारी गर्नुहुन्थ्यो । 

फिल्डमार्सलको पदवी सीमित अवकाशप्राप्त प्रधानसेनापतिहरूले मात्र पाउनुभएको छ । छिमेकी मुलुक भारतमा पनि अहिलेसम्म दुई जनाले मात्र यो पदवी पाउनुभएको छ । त्यस्तो पदवी पाउनेमा कोडन्डेरा मदप्पा करिअप्पा र साम मानेक्सा हुनुहुन्छ । बेलायतमा त धेरै पूर्वप्रधानसेनापतिहरूलाई फिल्डमार्सलको पदवि दिइएको छ । खासगरी, युद्धकालीन समयमा फिल्डमार्सल दिने चलन संसारभरि नै व्याप्त थियो र छ । 

नेपालमा भने पाँच जना पूर्व सेनाप्रमुखले मात्र फिल्डमार्सलको पदवी पाउनुभएको छ । त्यसमा रुद्रशमशेर, हरिशमशेर, केशरशमशेर, सुरेन्द्रबहादुर शाह र नीरशमशेर मात्र हुनुहुन्थ्यो । राणाकालमा केही राणा प्रधानमन्त्रीहरु र २००७ सालमा प्रजातन्त्र आएपछि राजाहरूले पनि (श्री ५ दीपेन्द्रबाहेक) फिल्डमार्सलको उपाधि लिएको देखिन्छ । पछिल्लो समय २०७२ सालको संविधानमा फिल्डमार्सलको प्रावधान हटाइएको हुँदा अब त्यो पदवी कसैले पाउने अवस्था रहेन ।

सेनाकै पूर्व प्रधानसेनापतिहरु मध्ये कसैलाई राजदूत नियुक्त गर्ने प्रचलन पनि थियो । यो प्रचलन अन्य देशहरुमा पनि छ । पञ्चायत व्यवस्था हुँदा राजाबाट राजदूत नियुक्त गर्ने प्रचलन भएकाले पूर्व प्रधानसेनापतिहरु महारथी किरणशमशेर राणा, सिंहबहादुर बस्नेत, गुणशमशेर राणा, अर्जुननरसिंह राणा, सिंहप्रताप शाह, सच्चितशमशेर राणा र उपरथी भरतकेशर सिंह राजदूतमा नियुक्त भई आफ्नो कार्यकाल सफलताका साथ निर्वाह गर्नुभएको थियो । 

सुरेन्द्रबहादुर शाहले अवकाश पाउनु भएपछि बलाधिकृत रथी सिंहबहादुर बस्नेत सेनाको ‘कमान्डर इन चिफ’ बन्नुभयो । बस्नेतको पालामा खम्पा विद्रोह किनारा लगाइएको थियो । खम्पा विद्रोहले राष्ट्रिय सुरक्षामा चुनौती दिइरहेको हुँदा त्यसलाई जसरी भए पनि निप्ट्याउन आवश्यक थियो र बस्नेतको कार्यकालमै त्यो विद्रोह दबाइएको थियो । राजा वीरेन्द्रको शुभराज्याभिषेकको बेला पनि उहाँ नै ‘कमान्डर इन चिफ’ हुनुहुन्थ्यो । उहाँले पनि अतिरथी हुने ठूलो चाहना राख्नुभएको थियो भन्ने त्यस बेलाका जानकार बताउँछन् । किनभने उहाँ नै अन्तिम कमान्डर इन चिफ हुनुहुन्थ्यो ।
त्यसपछि गुणशमशेर राणाले सेनाको नेतृत्व लिनुभयो ।

राणा पहिलो ‘चिफ अफ आर्मी स्टाफ’ हुनुभयो । राणापछि सिंहप्रताप शाह प्रधानसेनापति हुनुभयो । शाहसँग मेरो पारिवारिक सम्बन्धसमेत जोडिएको थियो । उहाँ मेरो ससुरा–बुवाको भाइ हुनुहुन्थ्यो । राजा वीरेन्द्र लन्डनमा अध्ययन गर्न जानु हुँदा शाह ‘मिलिट्री अट्याची’ को जिम्मेवारी पाएर जानुभएको थियो । त्यही कारण राजा वीरेन्द्रसँग उहाँको अत्यन्तै राम्रो र सुमधुर सम्बन्ध थियो । सेनामा पनि उहाँलाई ‘राजा वीरेन्द्रको मन परेको व्यक्ति’ भन्ने गरिन्थ्यो । 

राजा वीरेन्द्र लन्डनबाट अध्ययन सिध्याएर नेपाल फर्किबक्सेपछि देशका विभिन्न ठाउँहरूको भ्रमणमा सवारी भएको थियो । राजासँगको केही भ्रमणमा सिंहप्रताप शाह पनि सँगै जानुभएको थियो । शाहको खलक ज्ञानेश्वरको चौतारिया थियो र बडामहारानीको मावली पनि ज्ञानेश्वरकै चौतारिया भएको हुँदा पनि उहाँहरूबीच राम्रो सम्बन्ध थियो । शाह निकै असल तर कडा कमान्डरको रुपमा चिनिनु हुन्थ्यो । नैतिकता र अनुशासन पालना गर्ने÷गराउने दृष्टिले पनि उहाँ अब्बल मानिनु हुन्थ्यो । उहाँ पोखराको नम्बर ३ बाहिनीपति हुनुहुँदा खम्पा विद्रोहलाई निशस्त्रीकरण गर्ने अभियान सुरू भयो र उहाँकै कार्यकालमा विद्रोह साम्य पनि भएको थियो ।

सिंहप्रताप शाह प्रधानसेनापति हुँदासम्म सेनामा पुरानो पिँढीको बाहुल्य थियो । उहाँको पालासम्म परम्परागत तालिम र पुरानै संस्कारबाट हुर्किएका पारिवारिक सम्बन्ध भएका अधिकृतहरुको बाहुल्य थियो । शाहले अवकाश पाउनु भएपछि अर्जुननरसिंह राणा सेनाप्रमुख बन्नुभयो । राणा चाहिँ पहिलो पटक भारतको देहरादुनस्थित मिलिटरी एकेडेमीबाट तालिमप्राप्त प्रथम अधिकृत हुनुहुन्थ्यो । उहाँको पालादेखि नै सेनामा नयाँ तालिम पाउने चरण प्रारम्भ भयो । राणाले भारतमा तालिम लिनुभएको हुँदा सेनाभित्र अब सेनाले नयाँ ढङ्गले गति लिन्छ, तालिम पाएका नयाँ पिँढीका मानिस सेनापति हुनुभएको छ भन्ने आशा र अपेक्षा पलायो ।

राणाकै पालामा एउटा कार्यदल (टास्क फोर्स) पनि गठन गरिएको थियो । खासगरी, नेपालमा केकस्तो सुरक्षा चुनौतीहरु हुन सक्छन्, त्यसलाई सामना गर्न कस्तो र कति संख्याको फौज चाहिन्छ, बाह्य चुनौती के हुन् र सेनाको आन्तरिक व्यवस्थापनबारे अध्ययन गरेर योजना बनाउने जिम्मा त्यो कार्यदललाई दिइएको थियो । सेनालाई सामरिक दृष्टिले सुदृढ तुल्याएर कसरी सक्षम बनाउने भन्ने त्यो कार्यदलको लक्ष्य थियो तर त्यो कामले पूर्णता भने पाउन सकेन । 

यद्यपि राणा प्रधानसेनापति हुनु भएपछि प्रत्येक वर्ष एक हजारका दरले दरबन्दी थप्दै जाने निर्णय भने गरियो । कार्यदलले निर्धारण गरेको संख्यामा लजिस्टिक्स व्यवस्थापन र पूर्वाधार निर्माण गर्ने क्षमता त्यसबेला देशको आर्थिक अवस्थाका कारण सम्भव थिएन । यद्यपि उहाँकै कार्यकालमा सेनाको भौतिक पूर्वाधारहरू निर्माणमा बजेट वृद्धि हुन थाल्यो । एउटा दुखद कुरा चाहिँ के हो भने भौतिक पूर्वाधार निर्माणका लािग बजेट वृद्धि हुन थालेपछि सेनाभित्र अनियमितताको सुरूआत र त्यसले प्रश्रय पनि पाउन थाल्यो ।

राणाको कार्यकाल सकिएपछि सत्चितशमशेर राणा सेनाप्रमुख बन्नुभयो । उहाँ एकदम हार्डकोर कमान्डर, वफादार र राजाले दिएको आदेश पूर्णतः पालना गर्ने स्वभावको हुनुहुन्थ्यो । उहाँलाई बुद्धिमा भन्दा बलमा अग्रणी रहेको ठानिन्थ्यो । धेरै पटक प्यारासुट जम्प गर्नुभएको हुँदा पनि उहाँ निकै बलशाली मानिनु हुन्थ्यो । उहाँ प्रायः तालिमलाई नै जोड दिनुहुन्थ्यो । सेना तालिम प्राप्त हुनुपर्छ, दुःख सहनुपर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो । सेनामा दुःख–कष्ट सहनुपर्छ भन्नेमा अडिग हुनुहुन्थ्यो तर लोक कल्याण (वेलफेयर) को पाटोलाई भने उहाँले उति महत्त्व दिनु भएन ।  
२०४६ सालको जनआन्दोलनको बेला उहाँ नै प्रधानसेनापति हुनुहुन्थ्यो ।

जनआन्दोलन सफल भइसकेपछि २०४७ साल कात्तिक २३ गते नयाँ संविधान जारी भयो । संविधान आउनुपूर्व तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई कहाँ सेनाका जर्नेलहरू लिएर उहाँ जानुभएको र ‘संविधानमा यी–यी कुराहरू राखिनुपर्छ’ भनेर दबाब दिएको कुरा निकै चर्चित बन्न पुगेको थियो । 

प्रधानसेनापतिबाट अवकाश पाउनु भएपछि उहाँ म्यान्मार (बर्मा) को राजदूतमा नियुक्त हुनुभयो । तत्कालीन सरकारले उहाँलाई म्यान्मारको राजदूतमा नियुक्त गरे पनि उहाँले चित्त भने बुझाउनुभएको थिएन । उहाँ अरू नै प्रभावशाली देशको राजदूत बन्न चाहनु हुन्थ्यो । 
त्यसताका म सैनिक सचिवका रुपमा कार्यरत थिएँ । सोही बेलामा उहाँसँग एउटा रमाइलो संवाद भएको थियो ।

एकदिन उहाँले मलाई म्यान्मारबाट फोन गर्नुभयो र भन्नुभयो, ‘तपाईं सैनिक–सचिवमा नियुक्त हुनुभएकोमा खुसी लाग्यो, तपाईंलाई बधाई दिन फोन गरेको हुँ ।’ त्यसपछि उहाँले राजा वीरेन्द्रसमक्ष आफ्नो एउटा कुरा जाहेर गरिदिन मलाई अनुरोध गर्दै भन्नुभयो, ‘म्यान्मारको राजदूतलाई ख श्रेणीको राजदूत मानिन्छ । अब तत्काल सरकारले क्यानडा र अस्टे«लियामा पनि नयाँ दूतावास खोल्ने कुरा सुनिरहेको छु । मलाई क वर्गमा पर्ने क्यानडा वा अस्ट्रेलियाको लागि सिफारिस गरिदिन राजासमक्ष कुरा राखिदिनु हुन्छ कि ?’

मैले भनें, ‘जुन देशको राजदूत भए पनि सम्मान त उत्तिकै हो । राजदूत भनेको एउटा देशको कूटनीतिक प्रतिनिधि न हो । देशको प्रतिनिधि भएर सेवा गर्ने हो, देशको गरिमा र सम्बन्ध बिस्तार गर्ने हो । बरु हजुर त नेपाल फर्किएर फिल्डमार्सल हुनुपर्यो नि ! अब ।’

‘त्यो त तपाईंले सही कुरा गर्नुभयो’ उहाँले भन्नुभयो । साँच्चै, म्यान्मारको राजदूतको पदावधि सकिएपछि नेपाल फर्किएर फिल्डमार्सल हुने उहाँलाई ठूलो रहर थियो तर राजदूतको पदावधि सकिएपछि उहाँमा रहेको राजा र राजसंस्थाप्रतिको वफादारीको मूल्याड्ढन गरेर राजसभा स्थायी समितिको सदस्य बनाइयो । बाँचुञ्जेल उहाँ राजसभामा नै रहेर क्रियाशील हुनुभयो । राजसभामा रहँदा उहाँले निकै गतिविधिहरू गर्नुभयो र त्यहाँ रहँदाखेरि उहाँको राजा र राजसंस्थाप्रतिको वफादारिता छर्लङ्गै देखिन्थ्यो । 

उहाँ राजसभामा हुँदाकै एउटा अर्को घटना पनि सम्झिन्छु । म सैनिक सचिवको कार्यालयमा ज्यादै व्यस्त थिएँ । त्यसबेला माओवादी विद्रोह उत्कर्षमा थियो । त्यसैबेला उहाँले मलाई फोन गरेर भन्नुभयो, ‘मैले राजसभाको क्षेत्रीय सम्मेलन नेपालगञ्जमा राखेको छु । हाम्रो एकजना सदस्य डोटीमा हुनुहुन्छ । उहाँलाई डोटीबाट ल्याएर सम्मेलन सकेपछि डोटीमा छाड्ने हेलिकप्टरको व्यवस्था मिलाइदिनु पर्यो ।’

मैले नम्र भएर भनें, ‘राजसभा सदस्य स्थानीय व्यक्ति हुनुहुन्छ र आफ्नो क्षेत्रमा भ्रमणको व्यवस्था त उहाँ स्वयंले नै मिलाउनु प¥यो नि !’ 
उहाँले भन्नुभयो, ‘अहिले देशमा शान्तिको वातावरण छैन । सुरक्षा चुनौती छ । त्यसैले हेलिकप्टरको व्यवस्था गरिदिनु प¥यो भनेको हुँ ।’
मैले भनें, ‘तपाईं आर्मीको चिफ भएको व्यक्ति । सेनामा कति हेलिकप्टर छन् भन्ने थाहा छँदैछ । अहिले सेनालाई अपरेसन सञ्चालन गर्न र घाइतेको उद्धार गर्न समस्या छ । यो कुरा तपाईंले बुझिदिनु पर्यो । यदि सुरक्षा चुनौती छ भने सम्मेलन पछि सारे भयो ।’
मैले यति भनेपछि उहाँले फोन राखिदिनु भयो । 

सत्चितशमशेर जबराको पदावधि सकिएपछि गडुलशमशेर राणा प्रधानसेनापति बन्नुभयो । उहाँको कार्यकालमा पनि सेनाको भर्ना संख्या थपिने र तालिमहरू हुने क्रम चलिरह्यो । पहिलो पटक इजिप्टमा शान्ति सेना खटाइँदा राणा गणपति भएर जानुभएको थियो । 

उहाँको कार्यकालमा दुई जना लेफ्टिनेन्ट जनरल थपिने कुरा उठेपछि त्यसले निकै ठूलो विवादको रुप लिएको थियो । उहाँकै पालामा सेनाभित्र भ्रष्टाचार र अनियमितता व्याप्त भएको कुरा चर्को रुपमा मात्रै उठेन, भ्रष्टाचार प्रकरणमा तत्कालीन सम्भाररथी योगेन्द्रप्रताप जङ्ग राणामाथि कोर्टमार्सल नै गरिएको थियो । 

यो प्रकरणले उहाँलाई अप्ठेरो मात्र पारेन, अवकाश पाउनुभन्दा १०–१२ दिनअगावै राजीनामा दिनसमेत बाध्य हुनुपरेको थियो । यो २०५१ सालतिरको कुरा हो । सेनाको उच्च तहका कर्मचारी भ्रष्टाचारमा मुछिएपछि गडुलशमशेरले नैतिक सड्ढट झेल्नुप्यो । ‘आर्मीको चिफ भएर भ्रष्टाचार नियन्त्रण गर्न किन नसकेको ?’ भन्ने प्रश्न राणातर्फ सोझिएपछि उहाँले बाध्य भएर राजीनामा दिनुपरेको थियो ।

उहाँले अवकाश लिएपछिका दिनहरुमा भेट हुँदा सेनामा रथी दरबन्दी थप हुँदा म एडिसी ड्युटीमा रहेको र राजा वीरेन्द्र रिसाइबक्सेको प्रसङ्ग सुनाउँदा उहाँले भन्नुभयो, ‘यसबारे मलाई कुनै जानकारी थिएन । मैले त योगेन्द्रप्रताप जर्साब र शान्तकुमार जर्साब मामा–भान्जा नाता रहेको र शान्तकुमार जर्साबले दरबारमा सबै कुरा जाहेर गर्नुभएको होला भन्ने ठानेको थिएँ । योगेन्द्रप्रताप जर्साबले नै सबै कुरा मिलाएको छु भनेर मसँग भन्नुभएको थियो । म त केवल जिम्मेवार ठाउँमा भएकाले नैतिकताको आधारमा राजीनामा दिएको हुँ ।’

मैले भनें, ‘सर, यदि भविष्यमा किताब लेखें भने तपाईंलाई कोट गरेर जस्ताको तस्तै लेख्न सक्छु ?’

उहाँले भन्नुभयो, ‘यो लेखिदिनु भयो भने त हल्का बोध गर्नेछु ।’ दुर्भाग्यवश, उहाँ यो किताब प्रकाशन हुनुअगाडि नै दिवङ्गत हुनुभयो ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नातेदार गोपाल कोइराला सेनामा सुवेदार क्लर्क हुनुहुन्थ्यो । उहाँले नै सरकार र सेनाबीच मध्यस्थता गरेर दुई जना लेफ्टिनेन्ट जनरलको दरबन्दी थपिन पुगेको थियो भन्ने चर्चा चलेको थियो । यो कुराको जानकारी दरबारलाई थिएन वा राजालाई जानकारी नदिएर गुमराहमा राखियो । यसै प्रसङ्गसँग जोडिएको विषय मेरो लागि सधैं स्मरणीय हुन गयो । 

एकदिन म श्रीसदनबाहिरको पाश्र्ववर्ती कार्यालयमा थिएँ । सैनिक सचिवालयबाट एउटा सानो खाम सरकारलाई सम्बोधन गरेर आयो । त्यो खामको बाहिर ‘अति जरुरी, अति गोप्य’ भनेर लेखिएको थियो । त्यो पत्र मेरो हातमा परेपछि मैले लगत्तै शाही अर्दलीलाई बोलाएँ र पत्र दिँदै ‘सरकारलाई तुरुन्त चढाइदिनू’ भनें । 

शाही अर्दलीले त्यो पत्र राजालाई दिए र राजाको कार्यालय–व्याग लिएर आएर मलाई दिँदै भने, ‘सरकार, असाध्यै रिसाइबक्सेको छ है ।’ उनले यति मात्रै भने । त्यसपछि राजा अफिस जानका लागि गाडीमा चढिबक्सियो । दरबारकै कम्पाउन्डभित्र गाडी एक फन्को लगाइसकेपछि कार्यालयमा पुगिबक्सियो । मैले राजालाई देख्ने बित्तिकै निकै क्रुद्ध रहेको अनुमान लगाएँ । त्यति शान्त स्वभावका राजालाई मैले त्यति क्रुद्ध त्यसअघि कहिल्यै देखेको थिइनँ । 

मलाई राजाले सोधिबक्सियो, ‘तिम्लाई आर्मीको लेफ्टिनेन्ट जनरलको बारेमा केही थाहा छ ?’

मैले भनें, ‘सरकार, केही पनि थाहा छैन मलाई त ।’ 

राजाले भनिबक्सियो, ‘यो दुइटा लेफ्टिनेन्ट जनरलको दरबन्दी थप्ने भन्ने कुरा के हो ? कहाँबाट आयो यो कुरा ?’

यो विषय हामीलाई थाहा हुँदैनथ्यो किनभने सैनिक सचिवालयलाई मात्र उक्त विषयमा जानकारी हुन्थ्यो । राजाले भनिबक्सियो, ‘दुइटा लेफ्टिनेन्ट जनरलको दरबन्दी थपिएको छ रे ! यो सेनाको उच्च तहको विषय हो । मलाई जानकारी गराउनुपर्ने । यो विषयमा मलाई कुनै जानकारी छैन । कसरी यस्तो हुन गयो ?’

मैले फेरि त्यो विषयमा आफूलाई कुनै जानकारी नभएको कुरा राजासमक्ष जाहेर गरें, ‘यो सेनाको उच्च तहको विषय हाम्रो तहमा जानकारी हुने विषय नै होइन ।’ त्यसपछि राजाले सिधै सैनिक सचिव शान्तकुमार मल्ललाई फोन गरिबक्सियो र कार्यालयमा बोलाइबक्सियो । त्यो चिठी मल्लले नै राजालाई पठाउनुभएको थियो । मल्ल राजाको कार्यकक्षमा पस्नु भएपछि म बाहिर निस्किएँ । राजा र मल्लबीच के–के कुरा भयो, मैले थाहा पाउने कुरै भएन । पछि राजाको कार्यकक्षबाट बाहिर निस्किँदा मल्लको भावभङ्गी पूरै बिग्रिएको थियो । 

राजाले मलाई फेरि कार्यालयभित्र बोलाइबक्सियो र भनिबक्सियो, ‘पशुपति (प्रमुख सचिव पशुपतिभक्त महर्जन) लाई बोलाउ ।’ मैले खबर गरेपछि तुरुन्तै महर्जन आउनुभयो र भित्र जानुभयो । राजा र उहाँबीच केके कुराकानी भयो, त्यो पनि मलाई थाहा भएन । त्यसलगत्तै प्रधानमन्त्री कोइरालालाई बोलाइयो । 

राजा र प्रधानमन्त्री कोइरालाबीच पनि केही समय यसबारेमा कुरा भयो । राजाले प्रधानमन्त्रीसँग यसबारे जिज्ञासा राख्दा प्रधानमन्त्री कोइरालाले ‘सरकार, यो सेनाको विषय हो र सेनाबाट राजदरबार प्रमुख सैनिक सचिवालयमार्फत् पहिले नै जाहेर भएर क्याविनेटमा आउने विषय भएकाले मैले त सरकारबाटै अनुमोदन गरिबक्सेको होला भनेर क्याविनेटबाट निर्णय गरेको हुँ । पहिले पनि सेनाका विषयहरु यसरी नै हुन्थे ।’
राजा नाजवाफ भएपछि कोइराला एकैछिनमा बिदा हुनुभयो । 

त्यसपछि प्रधानसेनापति गडुलशमशेर जबरालाई बोलाइयो । प्रधानमन्त्री आउनुअगावै प्रमुख सचिव महर्जन, सैनिक सचिव मल्ल र प्रधानसेनापति राणाबीच छलफल भयो । करिब एक घण्टा भित्र यी सबै भेटघाट भएका थिए ।

राजा, प्रधानसेनापति र सैनिक सचिवसँग अझ क्रुद्ध हुनु स्वाभाविकै थियो । 

राजा वीरेन्द्रसँग मैले लामो समयदेखि काम गर्दै आएँ तर त्यो दिन राजासामु पर्दा मलाई असजिलो र अप्ठेरो महसुस भयो, त्यसअघि कहिल्यै त्यस्तो महसुस गरेको थिइनँ । यो प्रकरण उब्जिनुमा कसको मुख्य भूमिका थियो ? यो विषयमा मलाई कसैप्रति सिधै आक्षेप लगाउने मन छैन । राजालाई गुमराहमा राख्ने काम भने दरबार र नेपाली सेनाको केही उच्च पदाधिकारीको मिलेमतोमा भएको थियो । 

यस प्रकरणमा मेरो कुनै भूमिका नभए पनि संयोगवश म ड्युटीमा रहेको हुँदा अरूबाट नै चालिएको गोटीका कारण राजाको रिसको भुमरीमा भने अनाहकमा म पनि फस्न पुगें । नेपालमा प्रचलित भनाइ ‘रिसाएको राजाको अघिल्तिर र घोडाको पछिल्तिर कहिल्यै नपर्नु’ भन्ने उखान चरितार्थ भएको महसुस गरें । 

मलाई लाग्छ, यो प्रकरणको उत्पत्ति तत्कालीन प्रधानमन्त्री, प्रधानसेनापति, सम्भाररथी उपरथी योगेन्द्रप्रताप जङ्ग राणा र सैनिक सचिवको मिलेमतोमा हुन पुगेको थियो । को–कसको साँठगाँठमा यो प्रकरण उत्पत्ति भयो ? त्यो बेग्लै चाखको विषय बन्यो । कसको कति जिम्मेवारी थियो, त्यो रहस्यपूर्ण भयो ।

यदि दुइटा लेफ्टिनेन्ट जनरलको दरबन्दी कायम भएर तत्काल दुई जना थपिएका भए योगेन्द्रप्रताप जङ्ग राणा प्रधानसेनापति हुने निश्चित थियो । साइनोको हिसाबले राणा सैनिक सचिव मल्लको मामा पर्नु हुन्थ्यो । 

अन्ततः दुई जना लेफ्टिनेन्ट जनरलको दरबन्दी थपिए पनि तत्काल पदोन्नति नगर्ने भन्ने निर्णय भयो । राजालाई समेत गुमराहमा राखेर मन्त्रिपरिषद्ले दुई जना लेफ्टिनेन्ट जनरलको दरबन्दी थपिएको निर्णय गरेर त्यो चिठी दरबारमा पठाइएको रहेछ । 

पछि सबै रहस्य खुल्यो, योगेन्द्रप्रतापलाई नै प्रधानसेनापति बनाउन यी सबै तारतम्य मिलाइएको रहेछ । यदि योगेन्द्रप्रतापको पदोन्नति नभएको भए उहाँले केही समयपछि नै अवकाश पाउँदै हुनुहुन्थ्यो । योगेन्द्रप्रतापले अवकाश पाउनु भएपछि दुई जना लेफ्टिनेन्ट जनरलको पदोन्नतिको फाइल अघि बढाइएको थियो । त्यही समयमा सेनाका लागि सामान खरिद गर्दा योगेन्द्रप्रतापद्वारा घोटाला भएको कुरा बाहिर आयो र उहाँ भ्रष्टाचारमा मुछिनु भयो । सामानहरू खरिद गर्दा आएको कमिसन सुवेदार गोपाल कोइरालामार्फत् उच्च तहका राजनीतिक नेताहरूसमक्ष पुग्ने कुरा पनि खुल्यो । कोइराला योगेन्द्रप्रतापकै मातहतमा रहेर काम गर्ने सुवेदार हुनुहुन्थ्यो । 

आखिर, प्रधानमन्त्री, प्रधानसेनापति र सैनिक सचिवको साँठगाँठमा यो प्रकरण उब्जिए पनि राजा वीरेन्द्रले हस्तक्षेप गरेर सबैका चाहनालाई पूरा हुन दिइबक्सेन । हुन त, प्रधानसेनापति राणाले यो विषयमा आफूलाई केही थाहा नभएको बताउनु भयो र सैनिक सचिव मल्लले पनि केही थाहा नभएको जिकिर गर्नुभयो । मेरो विचारमा भने उहाँहरूलाई यो विषय पूरै थाहा थियो ।

सैनिक सचिव मल्ल स्पष्ट ढङ्गले कुरा नगर्ने स्वभावको हुनुहुन्थ्यो । सेनाले दुइटा लेफ्टिनेन्ट जनरलको दरबन्दी थप्नुभन्दा केही समयअघि उहाँले मसँग त्यस्तै अस्पष्ट कुरा गर्दै भन्नुभएको थियो, ‘यो आर्मीले पनि के गर्छ, गर्छ । लेफ्टिनेन्ट जनरलको दरबन्दी थप्ने कुरा गर्दैछ ।’ दरबन्दी थपिनुभन्दा एकाध महिनाअघि मसँग यस्तो कुरा गर्नुभएको हुँदा उहाँलाई यो विषय पक्कै पनि थाहा थियो भन्ने अनुमान मैले लगाएँ ।
गडुलशमशेरले राजीनामा दिएको समय बडामहारानी सरकारको सवारी लन्डनमा भएको थियो ।

म उहाँसँगै सवारीमा गएको थिएँ । गडुलशमशेरले अवकाश पाउने बित्तिकै आफू सेनाप्रमुख बन्ने आशा रहेछ, धर्मपालवरसिंह थापाको । वरिष्ठताका आधारमा उहाँ नै प्रधानसेनापति बन्ने भए पनि उहाँलाई कायममुकाम मात्र दिइयो । त्यतिबेला म लन्डनमा भएको हुँदा उहाँले मसँग सम्पर्क गर्न चाहे पनि हुन सकेन । 

नेपाल फर्किएपछि उहाँले मलाई भेट्न चाहेको कुरा थाहा पाएँ । नेपाल फर्किएपछि म घर नगई सिधै उहाँको घरमा गएँ । किनभने उहाँले मेरी श्रीमतीलाई ‘जरुरी छ, नेपाल फर्किएपछि कार्यालयबाट सोझै मलाई भेट्न पठाइदिनू’ भन्नुभएको रहेछ । मेरी श्रीमतीले यो कुरा मलाई नेपाल आउनासाथ भनेकाले म सोझै उहाँलाई भेट्न गएँ । त्यतिबेला साँझ ७ बजिसकेको थियो । 

उहाँ र मबीच लामो संवाद चल्यो । प्रधानसेनापति राणाले राजीनामा दिएपछि उहाँलाई तुरुन्तै प्रधानसेनापति बन्ने इच्छा रहेछ । कायममुकायम मात्र हुँदा उहाँलाई अलि बढी छटपटी भएछ । मैले उहाँलाई आश्वस्त पार्दै ‘ढिलोचाँडो भइहाल्नु हुन्छ नि ! किन चिन्ता लिनु हुन्छ ?’ भनें । तत्काल प्रधानसेनापतिमा पदोन्नति नहुँदा कुनै चलखेल हुनसक्ने त्रासका कारण उहाँ पिरोलिनुभएको देखिनुहुन्थ्यो । रथी कृष्णनारायणसिंह थापा पनि प्रधानसेनापतिको प्रतिस्पर्धामा हुनुहुन्थ्यो । तसर्थ, रात रहे अग्राख पलाउँछ कि भन्ने लागेर थापाले मलाई बोलाएर कुराकानी गर्न चाहनुभएको रहेछ । किनभने दुइटा रथी दरबन्दी थप्ने घटना भएको धेरै भएको थिएन । नेपालमा अप्रत्याशित घटनाहरु हुने गरेको साक्षी इतिहास नै छ । त्यसबेलाको राजनीतिक नेतृत्वले पनि सेनामा चलखेल गर्ने अवस्था रहन्छ भन्ने थापालाई लागेको हुन सक्छ ।

थापाप्रति सेनाका सबै सिनियर तथा जुनियर अधिकारीको कस्तो धारणा थियो भने उहाँ एकदमै राम्रो व्यक्तित्व हुनुहुन्छ, विद्वान् हुनुहुन्छ । अझ, दरबारसँग उहाँको अत्यन्त राम्रो सम्बन्ध रहेको हुँदा पनि थापालाई नै आर्मी चिफ बनाइन्छ भन्ने धारणा सेनाभित्र थियो । युवराज दीपेन्द्रसँग पनि थापाको राम्रो सम्बन्ध थियो । युवराज दीपेन्द्र बुढानीलकण्ठमा अध्ययन गर्दा ताका सरकारलाई त्यहाँ अतिरिक्त क्रियाकलाप सिकाउन एउटा टोली पनि गएको थियो र त्यसको नेतृत्व थापाले नै गर्नुभएको थियो । 

यी सबै दृष्टिकोणबाट थापाले आर्मीको लागि निकै राम्रो काम गर्नु हुन्छ भन्ने अपेक्षा थियो । हामीले सैनिक तालिम सुरु गर्दा (नं. ४ बेसिक) उहाँ प्रशिक्षक हुनुहुन्थ्यो । उहाँप्रति हामी सबैको ठूलो श्रद्धा, विश्वास र भरोसा थियो । मेरो विचारमा उहाँ उत्कृष्ट शिक्षक हुनुहुन्थ्यो । उहाँले हामी सबैको मन जितेका कारण असल शिक्षक र होनहार अधिकृतको रुपमा हामीले हेरेका थियौं । 

केही समयपछि नै उहाँ प्रधानसेनापति हुनुभयो तर उहाँबाट जेजति अपेक्षा गरिएको थियो, त्यसअनुरुप उहाँले काम भने गर्न सक्नु भएन । पदोन्नति गर्दा वरिष्ठताको आधारमा मात्र गर्नुभयो । त्यसो हुँदा राम्रो–नराम्रो छुट्टिन पाएन । तालिमलाई पनि उहाँले त्यति महत्त्व दिनु भएन । त्यसको प्रभाव माओवादी विद्रोहको समयमा सेनाले गरेका अपरेसनहरुमा (कमीकमजोरी) देखियो । पछिल्लो समयसम्मै थापा राजा वीरेन्द्र र युवराज दीपेन्द्रको विश्वासपात्रको रुपमा गनिनु भयो । उहाँ फिल्डमार्सल बन्ने पक्कापक्की जस्तै भएको समयमा राजदरबार हत्याकाण्ड भएकाले यो योजना स्थगित भयो ।

धर्मपालवरसिंहपछि प्रज्वल्लशमशेर जबरा प्रधानसेनापति हुनुभयो । त्यो बेला म सैनिक–सचिव थिएँ । उहाँ र मबीच केमेस्ट्री नमिलेको भन्ने कि के भन्ने ? राणा र मबीच पटक्कै तारतम्य मिलेन । उहाँको सोचाइ के रह्यो भने म प्रधानसेनापति भइसकें, यो सेनालाई मैले सोचेअनुसार चलाउँछु । त्यसबेला उहाँले के बिर्सनु भयो भने कुनै पनि संस्थाहरु विधि, विधान, नियम, कानुन र परम्पराले चलेका हुन्छन्, उहाँ सर्वेसर्वा होइन । उहाँभन्दा माथि सरकार छ र राजा पनि छन् । उहाँले नियम–कानुनसम्मत तरिकाले सेना सञ्चालन गर्ने हो । यही विषयमा उहाँ र मबीच मतभेद रह्यो । उहाँ र मबीच चर्किएको मनमुटावबारे राजा र युवराजसम्मलाई पनि थाहा थियो । 

राणा प्रधानसेनापति हुनुभन्दा अघिको एउटा घटना सम्झिरहेको छुः 
त्यो बेला प्रज्वल्लशमशेर र क्षेत्रविक्रम शाह लेफ्टिनेन्ट जनरल हुनुहुन्थ्यो । उहाँहरूमध्ये कसलाई प्रधानसेनापति बनाउने भन्ने विषय उठेको थियो । एकथरीले प्रज्वल्ललाई र अर्कोथरीले क्षेत्रविक्रमलाई रुचाएका थिए । त्यही क्रममा, सेनाकै एकजना अधिकृतचाहिँ क्षेत्रविक्रमको पक्षमा भित्रभित्रै लाग्नुभएको रहेछ । उहाँले क्षेत्रविक्रम आर्मीको चिफ भइसकेपछि ककसलाई कहाँ–कहाँ पोस्टिङ गर्नेदेखि लिएर अरू थुप्रै योजनासमेत बनाउनुभएको रहेछ । 

त्यतिमात्र होइन, आफू क्षेत्रविक्रमको वरिष्ठ अधिकृतको रुपमा रहेर काम गर्ने योजनासमेत बनाउनुभएको रहेछ । यो कुरा प्रज्वल्लशमशेरले थाहा पाउनु भएछ । पछि प्रज्वल्लशमशेर सेनाप्रमुख हुनुभयो । त्यस्तो योजना बनाउने अधिकृतको पदोन्नति हुनेवाला थियो तर प्रज्वल्लशमशेरले ती अधिकृतलाई पदोन्नति नै गर्नु भएन । 

प्रज्वल्लशमशेरले ती सैनिक अधिकृतबारे राजासमक्ष भन्नुभएको थियो, ‘सरकार, यो अधिकृत क्षमतावान छ तर यसको चरित्र ठीक भएन । यो अधिकृतले क्षेत्रविक्रम प्रधानसेनापति भएपछि क–कसलाई कता पोस्टिङ गर्ने, आफूले कुन जिम्मेवारी लिने भनेर योजना नै बनाएको थियो । यस्तो मानिसलाई म कसरी पदोन्नति गर्न सक्छु ?’ 

यो विषयमा राजा केही बोलिबक्सेन । भर्खरै प्रधानसेनापति बनाएको हुँदा केही समय त उहाँलाई निर्वाध रुपले काम गर्न दिनुपर्छ भन्ने रह्यो ।  ती अधिकृत हुनुहुन्थ्यो, ज्ञानजङ्ग थापा । पछि उहाँले पदोन्नति नै नपाई अवकाश पाउनुभयो । उहाँ महासेनानी हुनुहुन्थ्यो र ब्रिगेडियर हुने क्रममा हुनुहुन्थ्यो । आफ्नो पदोन्नति नभएपछि उहाँले मसँग आएर गुनासो पनि गर्नुभएको थियो तर प्रधानसेनापति राणा नै उहाँप्रति नकारात्मक हुनुभएको हुँदा पदोन्नति हुने अवस्था नै रहेन ।

मैले उहाँलाई भनेको पनि थिएँ, ‘तपाईं हरेक हिसाबले सक्षम हुनुहुन्छ र ब्रिगेडियरका लागि तपाईं उपयुक्त पनि हुनुहुन्छ तर के गर्ने तपाईंलाई चिफले बढुवा हुन दिनै चाहनुभएको छैन । बरु म के गर्न सक्छु भने, तपाईंको ससुरा पूर्वप्रधानसेनापति, महारथी अर्जुननरसिंह राणा अनरेरी शाही पाश्र्ववर्ती पनि हुनुहुन्छ । उहाँलाई म दर्शनभेट मिलाइ दिन्छु । उहाँमार्फत् बिन्तीपत्र चढाउनुस् । तपाईं मेरो साथी । म सक्दो सहयोग गर्न तयार छु । चिफसाबको स्वभाव तपाईंलाई थाहा छँदैछ । मैले उहाँलाई यसबारेमा कुरा गर्दा अझ उल्टो हुन्छ ।’ 

पछि राणाले राजासँग दर्शनभेट पाउनु भयो । राजा र उहाँबीच के कुराकानी भयो, मलाई थाहा भएन तर प्रधानसेनापति राणाले उहाँलाई अवकाश दिलाई छाड्नुभयो ।  

राणामा भेदभाव गर्ने स्वभाव देखियो । उहाँ प्रधानसेनापति हुनु भएपछि २–४ वटा पदोन्नति भयो र त्यही क्रममा उहाँको टिकाटिप्पणी हुन थालिसकेको थियो । जसको पदोन्नति हुनुपर्ने हो त्यस्ता अधिकृतले नपाएको र जसले पाउनु नपर्ने हो त्यस्तालाई पदोन्नति गरिएको कुरा उठिसकेको थियो ।

राणाको कार्यशैली र तौरतरिकालाई लिएर गुनासो आउन थालेपछि मैले स्वाभाविक रुपमा राजासमक्ष जाहेरी गर्नुपथ्र्यो । जबराप्रति कुनै गुनासो लिखित रुपमा आउँथ्यो, कुनै मौखिक रुपमा । जुन माध्यमबाट गुनासाहरू आए पनि मैले राजासमक्ष राख्नैपथ्र्यो । 
एकदिन राजा वीरेन्द्रले मसँग स्पष्ट शब्दमा भनिबक्सियो, ‘उसलाई चिफ बनाइसकिएको छ, उसको काम केही समय हेरौं, सुरूमा उसलाई हस्तक्षेप गरियो भने नराम्रो हुन सक्छ । सेनामा दरबारबाट हस्तक्षेप भयो भन्ने सन्देश जान सक्छ । मैले जाहेर गरें ‘अन्याय भयो भने न्याय दरबारले दिनु पर्दछ ।’


प्रधानसेनापति भएको ६ महिनासम्म राणाले कतिपय क्षमतावान अधिकृतहरूको पदोन्नति गर्नु भएन । पदोन्नति नपाउनेहरूप्रति उहाँको केकस्तो हेराइ थियो ? त्यो हामीले थाहा पाउने कुरा थिएन ।

मैले उहाँसँग कुरा गर्दा पनि ‘एक दुईवटा केसमा तपाईंबारे कम्प्लेन आएको छ, सरकारले पनि न्यायिक शुद्धताको कुरा गरिबक्सेको छ, प्रधानसेनापतिबाट कोहीप्रति पनि अन्यायमा नपरुन् भन्ने सरकारको चाहना छ । यसमा विचार गर्ने हो कि ?’ भन्दा उहाँ मसँग क्षुब्ध हुनुभयो ।  
हुन पनि, प्रधानसेनापति राणा र मबीचको द्वन्द्व कति चरम अवस्थामा पुग्यो भने प्रधानसेनापतिले वा सैनिक सचिवले पद छाड्नुपर्ने तहसम्म यो घटनाक्रम विकसित भएको थियो । एक दिन त युवराज दीपेन्द्रले मसँग भनिबक्सियो, ‘तिमी र चिफबीच के लफडा परेको हो ? कुरै मिल्दैन त ।’
मैले भनें, ‘हैन, सरकार । म यति लामो समयदेखि दरबारकै सेवामा समर्पित छु । मेरो कुनै व्यक्तिगत स्वार्थ छैन । मैले उहाँलाई मेरो नजिकको मानिसलाई प्रमोसन दिनू भनेको छैन, यस्तो ठाउँमा पोस्टिङ गरिदिनू भनेको छैन । कसैलाई ठेक्का दिनू भनेको छैन । मैले त सरकारको ‘फेयर एन्ड जस्टिस’को निर्देशनलाई मानेर आर्मी चिफ आफ्नो नियम, कानुन अनुसार चलोस् भन्ने मात्रै चाहेको हुँ । कतैबाट गुनासो नआओस् भन्ने मात्र चाहेको हुँ ।’ 

जब म कार्यालय पुग्थें तब सधैंजसो सेनाका व्यक्तिहरुको ‘न्याय पाउँ’ भन्ने बिन्तीपत्रहरु देख्थें । फोनको घण्टी धेरैजसो गुनासो सुनाउनकै लागि बज्दथे । ती सबैको चाहना सरकारबाट मात्र सम्बोधन हुन्छ भनेर गरिएका रोदन हुन्थे । मैले सैनिक सचिवको जिम्मेवारी अनुसार उनीहरुका उचित माग सरकार सामु जाहेर गर्नैपथ्र्यो । यदि अन्याय भएको रहेछ भने न्याय दिने त राजाको कर्तव्य नै हो । 

एकदिनको कुरा हो, म सैनिक सचिवको कार्यकक्षमै थिएँ । बेलुकीको ५ जति बजेको थियो । हाम्रो ड्युटी बेलुकीको ६ बजेसम्म हुन्थ्यो । करिब ५ बजेतिर प्रधानसेनापति राणाको सैनिक सहायक महासेनानी रणध्वज लिम्बूले मलाई फोन गरेर सोध्नुभयो, ‘सर, अहिले अफिसमै हुनुहुन्छ ?’ मैले ‘हो, अफिसमै छु’ भनेर जवाफ दिएँ । 

उहाँले भन्नुभयो, ‘म अफिसबाट घर फर्किंदा तपाईंलाई भेटेर जाउँ कि भनेर फोन गरेको हुँ । आउँदा हुन्छ, सर ?’
मैले ‘हुन्छ’ भनें । उहाँ र मबीच राम्रो सम्बन्ध थियो र बेलाबखत कुराकानी पनि भइरहन्थ्यो । अझ, उहाँ सैनिक सचिवालयमा सम्पर्क अधिकृतका रुपमा दुई वर्षदेखि कार्यरत भएकाले राम्रै चिनजान र सम्बन्ध थियो । उहाँलाई प्रमुख सैनिक सचिवालयको काम, कर्तव्य र कसरी सञ्चालन हुन्छ भन्ने जानकारी थियो । 

मकहाँ आएपछि उहाँले भन्नुभयो, ‘चिफ साब र सैनिक सचिवबीच ‘टसल’ हुँदा हामीजस्ता कर्मचारीलाई काम गर्न निकै अप्ठेरो परिरहेको छ । आर्मीमा पनि कतिपय कुरा अघि बढ्ने वा नबढ्ने भन्ने समस्या आउँछ । हजुरले एक पटक आर्मी हेडक्वार्टर्समा गएर चिफ साबसँग कुराकानी गर्नुप¥यो । त्यसका निम्ति म समय मिलाउँछु । तपाई¬ंहरूबीच अनौपचारिक कुराकानी हुँदा वातावरण सहज होला कि ?’

मैले भनें, ‘म त जहाँ गएर पनि कुरा गर्न सक्छु तर उहाँले मसँग कुरा गर्नु हुन्छ कि हुन्न ? तपाईंले त मसँग आएर यो कुरा गर्नुभयो, यो कुरा तपाईंले चिफ साबलाई भन्नुभएको छ ? भन्नुभएको छ भने उहाँले के भन्नुभयो त ?’

उहाँले भन्नुभयो, ‘उहाँसँग यसरी खुलेर कुरा गर्न सके त कुरै अर्कै हुन्थ्यो नि ! उहाँ त बाघजस्तो हुनुहुन्छ, उहाँसामु यस्ता कुरा राख्ने अवस्था नै बन्दैन । हजुरसँग त म मजाले गफ गर्न सक्छु, हामीबीच एक अर्काका विचार आदानप्रदान पनि हुन्छन् । एक त उहाँको अघिल्तिर जानै सकिँदैन, गएर कुनै सुझाव दिँदा उहाँले झम्टिहाल्नु हुन्छ । उहाँलाई मन नपर्ने कुरा जायज भए पनि उहाँले सुन्न सक्नु हुन्न ।’
लिम्बू र मबीच यस्तो कुरा भएपछि यही कुरा मैले राजा वीरेन्द्रसामु राखें । त्यसपछि राजाले मुस्कुराउँदै प्रधानसेनापति राणालाई लक्षित गर्दै हुकुम भयो, ‘टिपिकल श्री ३ को टेन्डेन्सी ।’

प्रधानसेनापति (प्रज्ज्वलशमशेर) राणा श्री ३ जुद्दका नाति थिए । लिम्बूले मसँग भेट गरेर फर्किएपछि भोलिपल्ट प्रधानसेनापतिसँग कुराकानी भएछ । प्रधानसेनापति राणाले बोलाउन आदेश दिएपछि मलाई लिम्बूले खबर गर्नुभयो र म भोलिपल्ट राणालाई भेट्न गएँ । त्यो भेटमा उहाँले आफ्नो कुरा एकोहोरो रुपमा राख्दै भन्नुभयो, ‘सेकेन्ड लेफ्टिनेन्टमा जागिर सुरू गरेको मान्छे म, अहिले आर्मीको चिफ भएँ ।’ कुराकानीको क्रममा उहाँले आफूले जे गर्छु, त्यहीअनुरुप नै हुनुपर्छ भन्ने जिकिर मसामु गर्नुभयो । 

उहाँले एकतर्फी रुपमा आफ्नो कुरा राखेपछि मैले सोधें, ‘सरको कुरा सुनें, अब म आफ्नो कुरा राखौं ?’ 

मैले भनें, ‘हजुर सेकेन्ड लेफ्टिनेन्ट हुँदै आर्मी चिफ हुनुभएजस्तै म पनि सेकेन्ड लेफ्टिनेन्टबाटै उठेर आएको मानिस हुँ । म काठमाडौंको बासिन्दा होइन । म त दूरदराजबाट आएको व्यक्ति हुँ । सेनाबाट दरबारको सेवामा गएँ र अहिले सैनिक सचिव छु । हजुर सेनाको प्रधानसेनापति, सेनाको उच्चपदस्थ व्यक्ति । त्यस्तै म पनि राजदरबारको सैनिक अधिकारीको उच्चतम दर्जामा पुग्ने व्यक्ति हुँ । यी सबै तपसिलका कुरा हुन् । मेरो सीमितता यत्ति नै हो । मैले अवकाश पाएपछि घर फर्किनुपर्छ, मैले अरू कुनै अवसर पाउने अवस्था छैन । मेरो यात्रा यहाँसम्म मात्र हो तर हजुर त आर्मी चिफबाट रिटायर्ड भए पनि अरू अवसर पाउने अवस्था छ । अवकाश पाइसकेपछि अरू बाटा खुल्न सक्छन् । राजदूत हुन सक्नुहुन्छ, फिल्डमार्सल हुन सक्नुहुन्छ । मलाई लाग्छ, हजुरको कार्यकाल सफल होस्, राम्रो होस् । कतैबाट गुनासा आउने काम हजुरबाट नहोस् भन्ने मात्र मेरो चाहना हो ।’ 

मैले आफ्ना कुरा राखेपछि प्रधानसेनापति राणा केही मत्थर हुनुभयो । हुन त, प्रधानसेनापतिमा नियुक्त भएलगत्तै राजालाई भेट्न आउँदा राजा, प्रधानसेनापति राणा र मसँगै थियौं । प्रधानसेनापतिले राजासमक्ष जाहेरी गर्दा सैनिक सचिव पनि बस्नुपर्ने नियम रहेको हुँदा म पनि बसेको थिएँ । त्यतिबेला राजाले उहाँलाई भनिबक्सेको थियो, ‘सबै कुरा नियम, कानुनसम्मत गर्दा केही विवाद आउँदैन । प्रक्रियागत रुपले काम गर्दा सबैको चित्त पनि बुझ्छ ।’

‘सरकार, म एउटा कुरा जाहेर गर्न चाहन्छु’, राणाले भन्नुभएको थियो । ‘भन ।’ राजाबाट हुकुम भयो । 
‘सरकार, ८५ प्रतिशत त नियम, कानुनसम्मत काम गर्दा हुन्छ तर १५ प्रतिशत त चिफकै तजबिजमा छाड्नुपर्छ ।’ प्रधानसेनापति राणाले भन्नुभयो । 

प्रधानसेनापति राणाको कुरा सुनेपछि राजाले मुुसुक्क हाँस्दै भनिबक्सियो, ‘जेजति हुन्छ, त्यही १५ प्रतिशतमा नै त हुन्छ नि !’ 
खासगरी, प्रधानसेनापति राणा मुडी स्वभावको त हुनुहुन्थ्यो नै, अहम् भाव पनि उत्तिकै थियो । कुनै कुरामा चित्त नबुझे वा आफूले भनेजस्तो नभए तत्काल रिसाइहाल्नु हुन्थ्यो ।

प्यारजङ्ग पनि चिफ ?
राणाको बिदाइपछि प्यारजङ्ग थापा प्रधानसेनापति हुनुभयो । अघिल्ला प्रधानसेनापति राणाको बुझाइ थापाप्रति बेग्लै रहेछ । राणालाई ‘प्यारजङ्गले प्रधानसेनापति चलाउन सक्नु हुन्न’ भन्ने लागेको रहेछ । प्रधानसेनापतिका लागि थापा सक्षम हुनुहुन्न भन्ने कुरामा राणा प्रष्ट हुनुहुँदो रहेछ । थापा रोलक्रमका साथै अरू दृष्टिले पनि क्षमतावान् भए पनि राणाले भने के ठानेर हो कुन्नि, थापाको कार्यक्षमतामाथि प्रश्न उठाउनु भयो । एकदिन व्यक्तिगत भेटमा राजा ज्ञानेन्द्रसामु जाहेरी गर्ने बेलामा राणाले सोध्नु भएछ, ‘सरकार, प्यारजङ्गलाई पनि चिफ बनाइबक्सने हो र ?’
राजाले सोधी बक्सेछ, ‘किन र ? कुनै समस्या छ र उनमा ?’

राणाले भन्नु भएछ, ‘कमान्ड फितलो छ, उनको । उनलाई बनाइ बक्सने हो र ?’ 
दरबारको बुझाइमा थापा सेनाका सबै ‘फ्रोन्टियर्स’ र तालिम केन्द्रहरु ‘सिन्सियरली कमान्ड’ गरिसकेको र ‘ट्र्याक रेकर्ड’ राम्रो भएकाले उहाँको दक्षता र कार्यकुशलतामा शङ्का गर्ने ठाउँ थिएन । उहाँ सक्षम अधिकृतको रुपमा गणना भएर नै त्यो अवस्थामा आउनु भएको थियो ।
प्यारजङ्गको कमान्ड दरिलो नभएको कुरा बेलाबखत उठ्ने गर्दथ्योे । कुनै पनि कुरालाई गम्भीर रुपमा नलिने स्वभाव पनि थियो उहाँमा । एक पटक ब्रिटिस सेनाध्यक्ष जनरल सर साम काउन ९क्बm ऋयधबल० नेपाल आउनुभएको थियो । त्यही क्रममा जनरल सामलाई सरकारले व्यक्तिगत डिनर दिइबक्सेको थियो । त्यो डिनरमा राजा, सर साम काउन, प्रधानसेनापति राणा र प्रधानसेनापतिको रोलक्रममा रहेका प्यारजङ्ग, पूर्व सैनिक सचिव शान्तकुमार मल्ल, बेलायतका लागि पूर्वराजदूत अनरेरी शाही पाश्र्ववर्ती, उपरथी भरतकेशरी सिंह पनि हुनुहुन्थ्यो ।
डिनर चलिरहेको बेला माओवादी समस्याको विषयमा कुराकानी उठ्यो । कुराकानी गम्भीर रुपले चलिरहेको थियो । त्यही बेला प्यारजङ्गले मुसुक्क हाँस्दै फ्याट्टसँगले भन्नुभयो, ‘आपतकाल लगाइदिए भइहाल्छ नि, सरकार !’ उहाँले माओवादी समस्यालाई हलुका रुपमा लिनुभएको बोलीबाटै प्रष्ट देखिन्थ्यो ।

आपतकाल लगाउने जस्तो गम्भीर कुरालाई हलुका ढङ्गबाट राख्दा त्यो कुरा राजालाई पटक्कै मन परेको रहेनछ । पछि राजाले मलाई भनी बक्सियो, ‘प्यारजङ्गलाई भनिदेऊ, गम्भीर विषयवस्तुमा कुराकानी भइरहेको बेला त्यसलाई हलुका रुपमा लिनु हुँदैन ।’

प्यारजङ्ग प्रधानसेनापति भएको बेला माओवादी द्वन्द्व चरमोत्कर्षमा थियो । प्रज्वल्लशमशेर प्रधानसेनापति हुँदै माओवादीले दाङस्थित सेनाको व्यारेकमा आक्रमण गरेपछि देशमा सेना परिचालन भइसकेको थियो । राज्य र विद्रोही पक्षबीच ठाउँ–ठाउँमा भीडन्त भइरहेको थियो । 
प्रज्वल्लशमशेर सेनाप्रमुख हुँदा उहाँ र मबीच कतिपय विषयमा मतैक्य हुन सकेन तर प्यारजङ्ग सेनाप्रमुख हुनु भएपछि भने त्यस्तो स्थिति रहेन । उहाँ र मबीच सुमधुर सम्बन्ध रह्यो । कतिपय विषयलाई छलफल गरेर, नियमसम्मत र विधिसम्मत रुपले नै हामीले टुंग्याउँथ्यौं । मैले सेनामा तालिम सुरू गर्दा उहाँ हाम्रो ‘बेसिक’को प्रशिक्षक हुनुभएको हुँदा मैले सम्मान गर्थें । यो सामिप्यले पनि हुनसक्छ कुनै पनि कुरा छलफलबाट नै टुंग्याउँथ्यौं । उहाँ निकै भद्र स्वभावको हुनुहुन्थ्यो । अरुका कुरा सुन्ने, छलफलबाटै समस्याको हल गर्ने कमान्डरको रुपमा म उहाँलाई पाउँथें । उहाँमा ‘टिम वर्क’ का लागि सहयोगी भावना रहेको मेरो बुझाइ थियो ।

मैले सैनिक सचिवबाट राजीनामा दिएर दरबारबाट बाहिरिएपछि भने थापासँग खासै भेटघाट भएन । दरबारबाट हटाइएकालाई दरबारका मानिसहरूले खासै वास्ता गर्दैनन्, दूरी राख्न चाहन्छन् । त्यही कारण पनि भेट हुन नसकेको हो कि ? त्यसअघि भने उहाँले कहिलेकाहीं डिनरका लागि बोलाउनु हुन्थ्यो र त्यस क्रममा हामीबीच छलफल हुन्थ्यो । हाम्रो सम्बन्ध मैले राजीनामा दिएर अवकाश लिने दिनसम्म अत्यन्तै सुमधुर रह्यो । त्यसपछि खासै सम्बन्ध रहनुपर्ने विषयवस्तु पनि रहेन किनभने त्यस समयमा प्रधानसेनापतिको व्यस्तता ज्यादै नै थियो । 
 

कटवालको हिमखिम
मैले अवकाश पाएपछि प्रधानसेनापति बन्नुभयो– रुक्माङ्गद कटवाल । प्रधानसेनापति हुनुभएको अवधिमा मलाई तीन पटक उहाँले सेनाको हेडक्वार्टर्समा बोलाउनुभयो । ती भेटहरूमा समसामयिक सन्दर्भमा कुराकानी हुन्थ्यो । पहिलो पटक भेट हुँदा कटवालले भन्नुभयो, ‘२०६२÷०६३ को आन्दोलनमा मैले जे गरें, सही गरें । मैले राजसंस्थाको रक्षक हुनुभन्दा जनताको अभिमतलाई कदर गरें । राजसंस्थाकै छत्रछायाँमा सेनामा सेवा गरेको हुँदा नेपालको राजसंस्था आवश्यक छ र हालको अवस्थामा बेबी किङ हुनुपर्छ भन्ने मेरो मान्यता छ ।’

२०६२–०६३ को आन्दोलनमा प्रधानसेनापति प्यारजङ्ग थापा हुनुहुन्थ्यो भने कटवाल दोस्रो वरीयतामा । थापा प्रधानसेनापति हुनु भए पनि सेनाभित्र अधिकांश सवालमा कटवाल नै हावी हुनुहुन्थ्यो । त्यो समय यतिसम्म भएको रहेछ कि, दरबारका मानिसहरूले कटवालको भूमिकालाई लिएर टिप्पणी गर्ने र कटवालले चाहिँ दरबारको भूमिकालाई लिएर टिप्पणी गर्ने कामसमेत भएका रहेछन् ।
कटवाल राजा महेन्द्रले ओखलढुङ्गाबाट ल्याएर पढाएको, हेरविचार गरेको अनि राजा वीरेन्द्रले सेनामा राम्रो संरक्षण र तालिमलगायत महत्वपूर्ण जिम्मेवारी दिएको इत्यादि विषयले गर्दा उहाँलाई दरबारिया ट्याग लाग्नु स्वाभाविक नै थियो । उहाँमा राजभक्ति र देशभक्ति देख्ने मानिसको कमी थिएन । 
जनआन्दोलन टुङ्गिएर राजसंस्था नहटुञ्जेलसम्म ‘बेबी किङ’ को प्रसङ्गले निकै चर्चा पाएको थियो । त्यही भेटमा कटवालले मलाई भन्नुभयो, ‘दरबारमा मैले बेवी किङको प्रस्ताव लगेको थिएँ, राजालाई नै मैले त्यस विषयमा म्यासेजसमेत गरेको थिएँ र मैले गिरिजाप्रसाद कोइरालालाई पनि त्यस विषयमा कन्भिन्स गरिसकेको थिएँ तर राजाले मलाई म्यासेज पठाएर ‘बेबी किङ ओभर माइ डेड बडी’ भनिबक्सियो । राजाबाट त्यस्तो म्यासेज आएपछि मलाई धेरै खिन्नता महसुस भयो । मैले राजसंस्थाको निरन्तरताकै लागि सबै काम गरेको थिएँ ।’ त्यो बेला राजासँग कटवालले एडिसीहरू विजय खड्का र विनोज बस्न्यातमार्फत् संवाद गर्नुहुँदो रहेछ ।

त्यो बेला बेबी किङको प्रस्तावमा गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरू सहमत हुनुमा नेपालको सांस्कृतिक धरोहरलाई कायम राख्न पनि राजसंस्था राख्नुपर्छ, साङ्केतिक रुपमा भए पनि राजसंस्थालाई निरन्तता दिनुपर्छ भन्ने तर्क रहेको कटवालले बताउनुभयो । 

दोस्रो पटक पनि मलाई कटवालले छलफलका लागि जङ्गीअड्डामा बोलाउनुभयो । केही समय अघि मात्र म चीनको एक थिङ्क ट्याङ्कको बैठकमा भाग लिन बेइजिङ गएको थिएँ । त्यो बैठकमा भाग लिन जाँदा नेपाली राजदूतावासमा कार्यरत सैनिक सहचारीसँग मेरो भेट भएको थियो । उहाँले नेपालको प्रधानसेनापतिलाई एउटा रिपोर्ट पठाउनुभएको रहेछ । उहाँले ‘पूर्वरथी विवेक शाह आउनुभएको थियो, उहाँसँग मेरो भेट भएको थियो’ भनेर मेरो नामसमेत रिपोर्टमा उल्लेख गर्नुभएको रहेछ ।

म चीन जाने बेला कटवालसँग कुनै कुरा भएको थिएन । म नेपाल फर्किएको थाहा पाउनुभएपछि भोलिपल्ट बिहानै फोन गर्नुभयो र सोध्नुभयो, ‘चीन भ्रमण कस्तो रह्यो त ?’ मैले भनें, ‘राम्रै भयो’। 
कटवालले भन्नुभयो, ‘फुर्सद छ भने दिउँसो आउनुस् न, बसेर कुराकानी गरौं ।’

त्यो भेटमा कटवालले भन्नुभयो, ‘अब उपरथी टीका धमला (तत्कालीन प्रमुख सैनिक सचिवालय खारेज गरेर नयाँ बनेको कार्यालयमा दरबारको सुरक्षा संयोजकका रुपमा कार्यरत) को उपरथीको तीन वर्षे टर्मको अवधि २–३ महिना मात्र बाँकी छ । उसको अवधि थप्ने विषयमा कुरा हुँदैछ रे !’ त्यो समयसम्म गजेन्द्र लिम्बूलगायत दरबारबाट बाहिरिइसकेका थिए र उपरथीको पदावधिले गर्दा अवकाश पाइसकेका थिए । 
राजाले पनि धमलालाई भनिबक्सेको रहेछ, ‘तिम्रो अवधि सकिँदै छ । अवधि थप्ने विषयमा केके प्रक्रिया मिलाउने हो, सबै मिलाऊ ।’ धमलाले पनि ‘हुन्छ सरकार, म मिलाउँदै छु’ भनेका रहेछन् । प्रधानसेनापति प्रति त्यति विश्वस्त नभएर उपरथी धमलाले आफ्नै प्रयास थालेका पनि रहेछन् । त्यो समय गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । सुजाता कोइराला र डा. शेखर कोइराला कांग्रेसको प्रभावशाली नेता हुनुहुन्थ्यो । धमलाको सुजाता र डा. कोइराला दुवै जनासँग राम्रो सम्बन्ध रहेको हुँदा धमला पनि आफ्नो पदावधि थपिनेमा विश्वस्त हुनुभएको रहेछ । उहाँहरुबाट पनि प्रधानमन्त्रीलाई भनेर ‘टर्म’ थपाउने आश्वासन पाएकाले उहाँ ढुक्क हुनुहुँदो रहेछ । यो कुरा प्रधानसेनापतिलाई थाहा रहेनछ । 
राजाले एडिसी विजय खड्कालाई हुकुम बक्सेछ, ‘मैले टीकाको पदावधि थप्ने विषयमा कुरा गरेको छु, उनी मेरो भइहाल्छ भनेर ढुक्क भएका छन्, के हुँदैछ एक पटक चिफ (प्रधानसेनापति) सँग बुझ त ।’ यो कुरा विजयले प्रधानसेनापति कटवाललाई भनेछन्, ‘धमला सरको अवधि सकिँदैछ । उहाँको अवधि थपिने हो वा होइन, एक पटक हजुरले प्रधानमन्त्रीसँग बुझिदिनु पर्यो ।’ 

प्रधानमन्त्री कोइरालासँगको भेटमा प्रधानसेनापति कटवालले ‘धमलाको अवधि थप्नुपर्यो’ भनेर प्रस्ताव राख्नु भएछ । त्यसबेला प्रधानमन्त्री कोइरालाले त ‘कहाँ अब टर्म थप्ने ? म दरबारका मान्छेहरूको नामै सुन्न चाहन्नँ’ भन्दै रिसाउनु भएछ ।  

प्रधानसेनापति कटवालले आफू र प्रधानमन्त्रीबीच भएको संवादबारे एडिसी विजय खड्कालाई सुनाउनु भएछ र यही कुरा खड्काले राजासमक्ष जाहेर गरेछन् । त्यसपछि राजाले धमलालाई भनिबक्सेछ, ‘तिम्रो अवधि अब धेरै छैन, समयमै विचार गर है । गजेन्द्र लिम्बूको टर्म थपेनन् ।’
सुजाता र डा. शेखरले ‘हुन्छ, सबै कुराकानी भइरहेको छ’ भनेर धमलालाई आश्वस्त तुल्याइरहेका रहेछन् । कटवालले भने ‘मैले प्रधानमन्त्रीलाई भनें तर उहाँ मान्न तयार नै हुनुहुन्न’ भनेर जवाफ दिनुभएछ । यसमा कटवालले नै नकारात्मक भूमिका खेलिरहेका पो छन् कि भनेर दरबार र धमलालाई शङ्का भएछ । 

यो कुरा कटवालले दोस्रो पटकको भेटमा मलाई बताउनुभएको थियो । कटवाल प्रधानसेनापति हुँदा मैले अवकाश पाइसकेको थिएँ तर उहाँसँग मेरो पुरानो जानपहिचान भएको हुँदा केही पटक भेटघाट भएको हो । उहाँपछिका प्रधानसेनापतिहरुसँग खासै सम्पर्क रहेन । (शाही पार्श्ववर्ती श्र्ववत्र्ती सैनिक सचिव विवेककुमार शाहको दरबारबाट देखेको नेपाल पुस्तकको अंश, ठमनाथ घिमिरेले सम्पादन गरेको उक्त पुस्तक सांग्रिला मिडिया ग्रुप प्रालीले प्रकाशन गरेको हो । शाहको यसअघिको मैले देखेको दरबार पुस्तक पनि चर्चित थियो । )


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ